
तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाहरूको खानेपानी समस्या समाधानका लागि वार्ता गर्न गएका स्वर्गीय पत्रकार डकेन्द्रराज थापालाई माओवादीले अपहरण गर्र्यो, हत्या गर्र्यो, परिवारलाई शव समेत देखाउन मानेन । थापाको हत्या गरेर सार्वजनिक गरेको दिन २०६१ साउन २७ गते सम्झने हो भने आज १७ वर्ष पुगेछ । १७ वर्षसम्म उनको हत्यामा संलग्न ९ मध्ये ८ जना पक्राउ परिसकेका छन् भने मुख्य आरोप मानिएका बम बहादुर खड्का (मुक्ति) अझै पक्राउ पर्न सकेका छैनन् ।
१७ वर्ष सम्म पनि अपराधीहरू पक्राउ गर्न नसक्नु राज्यको कमजोरी हो भन्दै पत्रकार महासंघ दैलेखले जिल्ला प्रशासन कार्यालय दैलेखमा ध्यानाकर्षण पत्र बुझाएको छ । स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाका कान्छा भाइ यज्ञराज थापा अहिले दैलेख शाखाका अध्यक्ष पनि छन् । मुख्य अभियुक्त अझै पक्राउ नपर्नुमा राज्यको कमजोरी रहेको भन्दै जिल्ला प्रशासन कार्यालय दैलेखलाई ध्यानाकर्षण पत्र बुझाएको पत्रकार यज्ञराजा थापाले बताएका छन् ।
द्वन्द्वकालीन समयमा ४५ दिन बन्धक बनाई माओवादी कार्यकर्ताले पत्रकार थापाको निर्मम तरिकाले हत्या गरी शव द्धारी जङ्गलमा गाडेका थिए ।
शव उत्खनन र न्याय प्राप्तिको लडाइँमा पत्रकार महासंघ केन्द्रीय कार्यालय र मानव अधिकार आयोगको टोलीले लिएको अडानले दैलेखका पत्रकारहरू सफल भएका थिए । मलाई तत्कालीन समयका केही घटनाहरू सम्झँदा अहिले पनि मन मुटु चिसो हुने गर्दछ । सहकर्मीको शव द्धारी जङ्गल आसपासमा हुन सक्छ भन्ने सुईको सँगै विभिन्न प्रक्रियाहरू पुरा भएपछि जब जङ्गल नजिक शव कुर्न जानुपर्ने भयो । त्यतीवेला मुखमा पट्टी बाँधेर जङ्गल पार गर्दा कतै हामीलाई पनि हत्या गरेर यस्तै जङ्गलमा गाडिदिए भने यस्तो त्रास धेरै मनमा आई रहन्थ्यो । पत्रकार साथीहरूसँग रकम सकिएपछि दुई पोका चाउचाउ पकाएर चार जनाले झोल धेरै बनाएर खाएको कुरा अहिले पनि भित्रै देखि सम्झना योग्य छ । दश दिनसम्म जङ्गल कुर्ने बेलामा काठमाण्डौंबाट फरेन्सिक टोली आउन ढिलाइ भएपछि हामी बसेको विद्यालय नजिकको जङ्गलमा निकै खड्याँगखुडुगं आवाज आयो रातको समय छ साथमा १० जना मात्रै सुरक्षाकर्मीहरू हुनुहुन्छ । दुई दिन पछि विज्ञको टोली काठमाण्डौंबाट आउने खबर पाएका थियौँ ७ दिन सम्म कुरिसकेका छौँ । यदि विज्ञ टोली आउनुभन्दा अगावै शव उधिनेर फालिदिए भने के होला ।
यस्ता दुःख र कष्ट भोगेर परिवारलाई चारबर्षपछि सांस्कृतिक अधिकार प्रदान गरेका दैलेखका योद्धा पत्रकारहरुलाई राज्यले दिनुपर्ने सम्मान अहिलेसम्म पनि दिन सकेन बरु उल्टै ईश्याको रुपमा हेर्ने काम भयो । जो अहिले पनि कायमै छ । दुईवटा पार्टी एक भए, पुनः फुटे, अहिले पार्टीभित्र आफ्नो स्वार्थको लडाई कायमै छ । नेतृत्वमा पुगेका अहिलेका नेताहरूले समेत उति वेलाका रिस मनमा साँधेका छन् । यो कुरा अहिले पनि म स्वयं लगायत अन्य साथीहरूले भोग्दै आएका छन् । तत्कालीन माओवादीले थापाको हत्या गरेर सार्वजनिक गरेको दिन २०६१ साउन २७ गते सम्झने हो भने आज १७ वर्ष पुगेछ ।
दैलेख जिल्ला अदालतले हत्यारालाई कारबाहीको लागि फैसलासमेत गरिसकेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न केही व्यक्तिहरुलाई कारवाहीको फैसला सुनाई सकेको छ । केही व्यक्तिहरू कारबाही भोगेर अहिले सामान्य जीवन बिताई रहेका छन् । मुख्य अभियुक्त मानिएका फरार चार जना बमबहादुर खड्का (मुक्ति), बमबहादुर खड्का (अरुण), केशव खड्का र भक्तिराम लामिछाने मध्य तीनजना पक्राउ परिसकेका छन् । थप एक जनालाई पनि पक्राउ गर्नुपर्ने माग दैलेखका नागरिक समाजले गरेका छन् ।
पत्रकार डेकेन्द्रराज थापाकी पत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला अदालत दैलेखमा जाहेरी दर्ता गरेपछि थुनछेक आदेश अन्तर्गत २०६९ माघ १९ गते जाहेरीमा उल्लेखित नौ जनामध्ये केहीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्येका केहीलाई छुटाउन तत्कालीन राज्य संयन्त्र खुलेरै लागेको थियो । लोकतन्त्र स्थापना भईसकेपनि पनि न्यायको लडाई लड्दा पत्रकारहरू विस्थापित समेत हुनुपरेको थियो । पत्रकार थापाको स्थानीय डेकेन्द्र चौकमा सालिक निर्माण गरिएको छ । हत्या गरिएको दिनको सम्झना गर्दै थापाको सालिकमा हरेक वर्ष फुल माला चढाएर सम्झना गरिन्छ । यो घटनाको सम्झना गर्दा अहिले पनि मन भक्कानिएर आउँछ ।
त्यो असार सम्झिदा अहिले पनि कहाली लाग्छ
सयम २०६५ साल असार १ देखि असार १२ सम्मको हो । मेरो उमेर र २०६५ सालको साहसिक घटनालाई नियाल्ने हो भने अहिले बल्ल अलि परिपक्व भएको आफूलाई महसुस हुन्छ । त्यतीवेला उमेर २६ पुगेर २७ वर्ष लागेको रहेछ । यो आर्टिकल कोरेको मिति २०७६ साल साउन २७ को दिनको हिसाब गर्दा अहिले परिपक्व भएरै लाग्दछ तर त्यतीवेला गरेको अठोट, साहस र त्यतीवेलाको ऊर्जाशील भावना अहिले हराएको महसुस गरेको छु । असारको महिना, झरी पनि त्यस्तै, जुका लाग्ने लेक अनि संचारको कुनै सुविधानै छैन, म जस्तै अन्य दश जना ऊर्जाशील पत्रकार मित्रहरूको उमेर पनि २५ देखि २७ कै पेरिफेरिमा थियो । सबै उस्तै भएकाले पनि होला भावना पनि मिल्यो । सबैभन्दा बढी साहसिक कदमका रुपमा काम गर्ने यामप्रसाद शर्मा र महेन्द्र सापकोटालाई म कहिल्यै बिर्सने छैन । यस्तो महत्त्वपूर्ण काम गर्ने दैलेखका योद्धाहरूलाई भने काठमाण्डौंले आफ्नो स्वार्थ मात्र बनायो कहिल्यै सम्झना गरेन ।
स्वर्गीय पत्रकार डेकेन्द्ररा थापाको शव ४ वर्षपछि उत्खननको लागि गरिएको प्रयासको लागि खटिएका १० जना पत्रकार मध्ये सबैभन्दा पहिलो श्रेय याम शर्मा र महेन्द्र सापकोटालाई जान्छ । म पत्रकार महासंघको अध्यक्षको भूमिकामा थिएँ, मेरो भूमिका संस्थागत रुपमा यसै पनि महत्त्वपूर्ण थियो । पत्रकार नमन शाही ईन्सेकका प्रतिनिधि थिए उनको भूमिका पनि मानवअधिकारको जिल्ला प्रतिनिधिका हिसाबले यसै पनि अनिवार्य नै थियो । तत्कालीन समयमा योद्धा मित्रहरूलाई म अहिले पनि सम्झन चाहन्छु । मञ्जुल अधिकारी, खेमराज थापा, चक्र भण्डारी । अनि न्यायको अभियान साथ दिने मेरो कार्यकालका उपाध्यक्ष नवीन रिजाल लगायत दश जना साथीहरू ओहोरदोहोरमा भूमिका थियो । तत्कालीन समयमा द्धारी जङ्गल कुरेका तर नाम छुटेको भए माफी चाहन्छु । सम्झनै पर्ने अर्को नाम पनि छ । विद्यार्थी नेता एवं सहकर्मी शशिराम बि.क. जसले हामीलाई धेरै कुराले सहयोग गर्नुभएको थियो । अझै मलाई त्यो दम्पती सँग गएर एक रात बिताउन मन छ । जुन दम्पतीले हामीलाई यो कुराको सुईको दिएको थियो । उहाँहरूको अवस्था अहिले कस्तो छ बुझ्न मन छ । उहाँहरूलाई त्यसपछि केही समस्या पर्र्यो कि सोध्न मन छ । हामी त जेनतेन डर त्रासले भए पनि अहिलेसम्म यो विषयमा कलम चलाएकै छौँ तर उहाँहरू के गरिरहनुभएको होला, स्वास्थ्य अवस्था कस्तो होला ? उत्तर पाउन सकेको छैन । मनभित्र यस्ता प्रश्नहरू हरेक वर्षको साउन २७ मा आउने गर्दछन् ।
मेरो कार्यकाल २०६४ देखि २०६७ सम्म शव उत्खनन र परिवारले किटानी जाहेरी दर्ता गरेको विषय महत्त्वपूर्ण मात्र हैन त्यसपछि पनि दैलेखका पत्रकारहरूले किटानी जाहेरी दिएका व्यक्तिहरूलाई कानुनी कारवाहीका लागि निरन्तर सङ्घर्ष गरेको क्षणहरुपनि निकै पिडादायी छन् । तत्कालीन प्रहरी इन्स्पेक्टर अहिले डिएसपी भएका विनोद शर्माले गरेको योगदान अहिले पनि दैलेखका पत्रकारहरूले सम्झिरहेका छन् । उनले घटनामा संलग्न पहिलो त्यत्तिलाई प्रहरीले खसी खोज्ने बहाना बनाएर पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय दैलेख ल्याएका थिए । उनको पक्राउ सँगै देशभर तरङ्ग उत्पन्न भयो । तत्कालीन प्रहरी प्रमुखलाई निकै ठुलो दबाब सृजना गरियो । २०६५ । २०६६ मा प्रचण्ड प्रधानमन्त्री हुँदा पनि यो विषयले निकै चर्चा पाएको थियो । माओवादीले जानेको भए उति बेलै यो विषय केही सहज हुन सक्थ्यो तर दैलेखका पत्रकारले सहिद घोषणा गर्नुपर्ने र क्षतिपूर्ति परिवारलाई दिनुपर्ने विषय पनि जोडदारका साथ उठाएका थिए सुनुवाइ भएन ।
मलाई अर्को एउटा घटना मानष्पटलमा अहिले पनि आइरहन्छ । २०६८ सालमा पनि न्यायको लडाईका लागि दैलेखका पत्रकार, राजनीतिक दल, नागरिक समाजले खेलेको भूमिका महत्त्वपूर्ण छ । तत्कालीन समयमा दैलेखको यो अभियानमा माओवादी नेतृत्वमा सरकार थियो त्यो बाहेक तत्कालीन सात वटै दलहरूले दृश्य वा अदृश्य रुपमा सहयोग गरे, देशभरबाटै अभियानमा समर्थन जुटेपछि तत्कालीन सरकार न्यायको कुरा सुन्न बाध्य भएको थियो । हत्यामा संलग्न केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्र्यो प्रहरी र प्रशासनलाई समेत चौतर्फी दबाब दिइयो । प्रहरी प्रमुखलाई २४ घण्टे लगाइयो, सिडिओलाई धम्की दिईयो । त्यस वेला मेरा मित्र पुष्कर थापा पत्रकार महासंघ दैलेखको अध्यक्ष थिए । लोकतन्त्र प्राप्त पश्चात् बाबुराम भट्टराई त्यस वेला प्रधानमन्त्री थिए, उनको दैलेख भ्रमण र न्यायको लडाई अहिले सम्झँदा पनि झसङ्ग हुने गर्दछ । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेखको काँडा चौरमा भाषण गर्दै गर्दा बिचमा गएर दैलेखका योद्धा बिद्यार्थीहरुले कालो पट्टी देखाए, राज्यको संयन्त्र प्रयोग गरेका बाबुराम भट्टराईले सुर्खेत लगायतका जिल्लादेखि हतियार सहितका वाईसिएल बोलाएका रहेछन् । स्थानीय जनतामाथि निर्मम धुलाई भयो, दोहोरो झडप भयो, सञ्चार माध्यमको ढोका र झ्याल समेत फुट्यो, त्यसै रात पत्रकार विस्थापित हुनु पर्र्यो । विस्थापित दैलेखका पत्रकारले ७ दिनसम्म सुर्खेत बस्नुपर्र्यो पछि सरकार र पत्रकार महासंघसँग सहमति पश्चात् पत्रकारहरू जिल्ला फर्केका थिए ।
तत्कालीन समयमा साहसिक रुपमा कदम चालेका दैलेखका पत्रकारहरुलाई अहिलेसम्म न त पत्रकार महासंघले सम्बोधन गरेको छ, न पत्रकारका विभिन्न संघ सङ्गठनहरूले सम्मान गर्न भ्याएका छन् । बहाना बनाउने काम अहिले पनि कायमै रहेको छ । द्वन्द्वकालीन समयमा ४५ दिन बन्धक बनाई माओवादी कार्यकर्ताले पत्रकार थापाको निर्मम तरिकाले हत्या गरी शव खाल्डोमा गाडेको कुरा कहीँ कतै लुकाउने ठाउँ छैन किन की हत्यामा संलग्न केही व्यक्तिहरू यही बयान सँगै सजाय भोगेर उम्किसकेका छन् ।
मैले नेतृत्व गरेको नेपाल पत्रकार महासंघ दैलेख शाखामा आबद्ध योद्धाहरूले २०६५ सालमा पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन पश्चात् उहाँका परिवारले सांस्कृतिक अधिकार प्राप्त गरेका थिए । त्यतीवेला लेखेको यो लेख जस्ताको तस्तै यहाँ प्रस्तुत गर्न चाहन्छु ।
मुखमा पट्टी बाँधेर सहकर्मीको शव खोज्दा ।
मैले भर्खर राष्ट्रिय स्तरको मिडियामा काम गर्ने जमर्को गरिरहेका बेला पत्रकार डेकेन्द्रराज थापाको माओवादीद्वारा हत्या हुँदा निकै मर्माहत हुनुपर्र्यो । त्यसबाट मनभित्र एउटा उराठलाग्दो डर मभित्र मात्र होइन, दैलेखका सबै पत्रकारहरूमा पलाएको थियो भने अर्कोतर्फ अनाहकमै हत्या गर्ने र शवसमेत बेपत्ता पार्नेहरूलाई कानुनी कठघरामा उभ्याउनुपर्छ र दण्डहीनताको अन्त्य गर्नुपर्छ भन्ने अठोट पनि उब्जिरहेको थियो। अनाहकमै पत्रकारहरूलाई समेत मारेपछि त्यसको पीडासँगै थपिएको ऊर्जाले समेत दैलेखको पत्रकारिताले झनै निडर भएर अगाडि बढ्ने आँट लिएको हो भन्दा फरक पर्दैन।
नेपाल पत्रकार महासंघ दैलेखको पहिलो अधिवेशनबाट जिल्ला शाखाको अध्यक्ष हुने महत्त्वपूर्ण अवसर मैले पाएँ, प्रकाशक बनेका नमनकुमार शाही मानवअधिकारकर्मीको रूपमा इन्सेक जिल्ला प्रतिनिधि थिए । द्वारी घर भएका यामप्रसाद शर्मा धमाका साप्ताहिक र पञ्चकोशी एफएममा काम गर्थे । काठमाडौँबाट एक्कासि खबर आयो– पत्रकार डेकेन्द्रराज थापाको शव द्वारी गाविसको नेर प्रावि नजिकको जङ्गलमा गाडिएको छ त्यसको उत्खनन गर्नु¥यो नमन शाही इन्सेक प्रतिनिधि भएका नाताले उनीबाटै मैले यो खबर सुनेँ । उनले मसँग सल्लाह मागे हाम्रो सल्लाहबमोजिम द्वारी गाविसको वस्तुस्थिति बुझेको मान्छे को छ त भन्ने प्रश्न उठिरहेको समयमा आफ्नै सहकर्मी याम शर्मा त्यतैतिरका भएका कारण हामीलाई केही सजिलो भयो। अब त्यहाँ जानुपर्ने कुरा पहिला हामीबाहेक अरूलाई थाहा दिनु हुँदैनथ्यो। माओवादीले भर्खर बन्दुक बिसाएका थिए, आजभोलिका माओवादीको त यस्तो गतिविधि छ भने तत्कालीन समयको निकै डरलाग्दो क्षेत्र त्यो पनि माओवादीको कब्जा गरिएको क्षेत्रमा गएर आफ्ना सहकर्मी दाजुको शव उत्खनन गर्नका लागि पहिलो अनुसन्धान गर्न हामीलाई कम चुनौती थिएन। दुई दिन जति सदरमुकाममा सल्लाह ग¥यौं दिउँसो गएपछि थाहा पाउँछन् राति जानुपर्छ भन्ने सल्लाहबमोजिम झोला र छाता बोकेर जाने आँट त ग¥यौं । तर, रातिमा हामीलाई कसैले चिने भने के भन्ने? त्यसैले सबैले मुखमा पट्टी लगाएर नौ बजेतिर हिँड्नुपर्छ भन्ने सल्लाहबमोजिम तीनजना मात्र साथीहरू नौ बजे रातारात गरेर नौमुले बजार पुगेर बस्यौँ।
नौमुलेबाट एकाबिहानै उकालो चढेर पहिलो पटक यामप्रसाद शर्माकी दिदीको घरमा भेटघाट र द्वारी झरनाको दृश्य लिनका लागि भनेर भिडियो क्यामेरासहित गएको हाम्रो टोलीले दुई दिनसम्म गहिरो अध्ययन गर्र्यो । विद्यालयनजिकै रहेका एक दम्पतीमध्येकी महिला जसले डेकेन्द्रराज थापाको चित्कार सुनेकी थिइन्, उनको चित्कार सुनेर आफूसमेत रोएको पीडा उनीसँग चार वर्षदेखि गुम्सिएर बसेको रहेछ। उनीसँग सामान्य चिनजान त भयो। मैले बाध्य भएर म पनि उहाँको भाइ हो भनेँ त्यसले झनै उनलाई पीडा भएछ क्यार। उनले हामीलाई अझै कुरा भन्न चाहिनन्। तर, सामान्य सङ्केत भने दिइन, खै बाबु यतै–यतै देख्थ्यांै धेरैजसो माओवादीले घुमाउन ल्याएको त हामीले पनि देखेका थियौँ, तर अरू कुरा केही थाहा भएन। हाम्रो पहिलो पटकको यो अनुसन्धानले हामीलाई थप ऊर्जा दियो। हामीले सल्लाह ग¥यौं र आमालाई फकायौँ । आमा केही चिन्ता नलिनुहोला माओवादीले अहिलेसम्म कहाँ राखेका छन्, जिउँदो छन् कि मारेका छन् , थाहा भएन। त्यही थाहा हुन्छ कि भनेर मात्रै भनेको’ अफ्ठेरो नमान्नुहोला भन्यौँ। यो शब्द सुनाउने बित्तिकै उनले भनिन ’कहाँ जिम्दो हुनु बाबु जिम्दो छैनन्।’ किनकि मारेर लतारेर लगेको उनले नै देखेकी रहिछन्। कुरै कुरामा आफै झसङ्ग भएर उनले अरू कुरा नै गरिनन् किनकि उनकै नजिकको छिमेकीकै घरमा मान्छेहरू उनको हत्यामा संलग्न थिए ।
मारिसकेपछि पनि छिमेकीकै पेटीमा राखेर सल्लाह गरेको उनलाई थाहा रहेछ। त्यो कुरा भनेपछि कतै आफूलाई समेत मार्ने पो हुन् कि ? उनका बूढाबूढीलाई त्यही डर रहेछ। हामी सदरमुकाम फर्कियौ ं। त्यति बेला हामी अनुसन्धानका लागि जाने कुरा तत्कालीन पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा र महासचिव पोषण केसीलाई जानकारी गराएका थियौँ नमन शाहीले आफ्नो सम्बन्धित निकायमा समेत जानकारी गराएका थिए ।
हामी पुगेर फर्केपछि मारेको त्यहीँ हो भन्ने कुरामा आधार भेटियो । तर, शव कता गाडेका छन् अलिकति सुइँको पाए भने उधिनेर फालिदिने हुन् कि भन्ने डर पनि लाग्यो। पुनः एक पटक द्वारी गयांै भने पक्का थाहा पाउन सक्छौँ भनेर दोस्रो पटकको यात्रा तय र्गयौं। यस पटक समाचार संकलनकै बहानामा एक हप्ता नबित्दै हामीहरू पुनः दिउँसै त्यता लाग्यौँ। धमाका साप्ताहिककै मञ्जुल अधिकारीसँगै चार जनाले द्वारीको स्कुल निर्माणको खबर सङ्कलनको भन्ने बहाना बनाएर राति खाना र नास्ता खाने तयारी गरेर स्कुलनजिकै रहेको सानो पसलमा बस्यौँ। प्रत्यक्षदर्शीले मदिरा सेवन गर्नाले हामीलाई निकै ठुलो अवसर मिल्यो। उनले भने– मार्छन् कि भन्ने डर छ, बाबु त्यही स्कुलको बलामा खुट्टा बाँधेर पिटी–पिटी मारेका हुन्। कसैलाई नभन्नु होला, गाडेको पनि स्कुलपछाडिको घरनजिक खोल्सामा छ।’
बिहान त्यतै गयौँ र सामान्य रूपमा र्हेयौं। तर, कुनै मेसो पाउन सकेनांै, पहरानजिकै शव गाडिएको जानकारी पाएपछि तत्काल सदरमुकाम आयौँ । त्यसपछि सम्बन्धित निकायमा जानकारी गरायौँ। हामीलाई झन् चुनौती थपियो । बैठक बस्यौँ सबैको एकमत भयो । मेरो कार्यकालका उपाध्यक्ष नवीन रिजाल क्रान्तिकारी पत्रकारका अध्यक्षसमेत थिए । तर, शव खोज्नका लागि तत्कालीन समयमा उनले गरेको योगदानको उच्च मूल्याङ्कन गर्नपर्छ। पेसागत धर्म र एकाताका लागि उनले आफ्नो पार्टीका कुरासमेत लत्त्याएर कलाजीवी पत्रकारको हकहितका पक्षमा उभिए। त्यसपछि हामीलाई सुरक्षाको आवश्यकता खड्कियो । सशस्त्र प्रहरी बलले हामीलाई निकै ठुलो सहयोग र्गयो। सात दिनका लागि भनेर हाम्रो टोलीका केही साथीहरू दुई दिनअगाडि नै शव गाडेको स्थानमा पुग्यौँ। त्यहाँ पुग्दा माओवादीले निकै कान डाढा पारे, केही आशंका मानिएका माओवादीहरू पाटनतिर उकालो लागेको खबर पायौँ ।
मानवअधिकार आयोगको टोली हिँड्ने खबर पाएपछि अलिकति सान्त्वना मिल्यो, तर गाइँगुइँ कुरा र हल्ला भइसकेपछि शव उधिनेर फालिदिने पो हुन् कि भन्ने चिन्ताले रातभर निन्द्रा लागेन । जिल्लाबाट गएका थोरै साथीहरूसमेत निकै डरायौँ खेमराज थापालगायतका साथीको टोलीले दुई दिनसम्म त खाना खाने मेसो नै पाएन र चाउचाउ खाएरै बस्यौँ ।
प्रहरीसँगै बिना बर्दीको प्रहरी बनेर रातभर ड्युटी दियौँ। नौ दिनको पर्खाइपछि शव उत्खननका लागि डा. हरिहर बस्तीलगायतको टोली बल्ल सदरमुकाममा आयो। त्यसअघि पत्रकार महासंघका मध्यपश्चिम सहसंयोजक एवं अध्ययन टोलीका संयोजक जनक नेपालसमेत आइपुगेपछि हामीलाई निकै हौसला बढ्यो। डा. बस्तीसहितको अनुसन्धानको टोली र जिल्लाका केही नेताहरू समेत घटनास्थलमा पुगे। शव गाडिएको ठाउँमा पुग्यौँ, सबै कुराहरू पूरा भए अनि योद्धा पत्रकारहरूले स्वर्गीय डेकेन्द्रराज थापाको शव उत्खनन गरेर ल्याउन सफल भयौँ। यसलाई मेरो पत्रकारिता जीवनको चुनौतीपूर्ण घटनाका रूपमा मैले लिएको छु।
माथिको कुरा मैले उति वेलै लेखेको थिएँ जति वेला शव उत्खनन गरेर दैलेख सदरमुकाममा फर्किएका थियौँ ।
अहिले पनि चुनौती कायमै ः
तत्कालीन समयमा यस्ता विषयहरू सँगै अहिले पनि इमानदार र व्यावसायिक पत्रकारमाथि बिभिन्न बाहनामा बिभिन्न निकायहरुबाट धावा बोल्ने क्रम कायमै छ । इमानदारिता कायम राख्दै पत्रकारिताको यो अभियानमा लागिरहेका छन् । कतिपयले पेसा नै परिवर्तन गरे, कतिपय पेसाबाट अलग छन् । कतिपय विभिन्न कारणले निष्क्रिय रहनुपरेको छ । पत्रकारिता भित्र पनि विभिन्न माध्यामहरु छन् । पछिल्ला दिनहरूमा संघीयता सँगै दैलेखमा समेत ११ वटा स्थानीय तहहरू छन् । दैलेखमा कार्यरत पत्रकार साथीहरूबिच अहिले पनि मनमुटाब कायमै होला तर व्यावसायिक एकताका लागि एकेबद्धता भएर काम गर्ने पत्रकारको चरित्र भने दैलेखमा प्रशंसा गर्न लायक छ ।
पछिल्ला दिनहरूमा पत्रकारहरू माथि विभिन्न आक्षेपहरू लाग्न सुरु गरेका छन् । पेशालाई अलि फरक ढङ्गबाट अगाडि बढाएका कारण पनि आलोचना आएको कुरालाई स्वाभाविक मान्नुपर्दछ । दैलेखको पत्रकारितालाई व्यवस्थित गर्न पत्रकार महासंघ र नेतृत्वदायी भूमिका निर्वाह गर्ने पुराना र पाका पत्रकाहरुहरुले समीक्षा गर्नपर्छ । व्यवसाय गर्न सबैलाई छुट छ तर सबैले आफ्नो मर्यादा कायमै राखेर गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।
दैलेखी पत्रकारको भूमिका राज्यले मनन गर्न सकेन
दैलेखी भूमिका जन्मेर निस्वार्थ रुपमा योद्धा भएर काम गरेका पत्रकारहरुलाई नेपाल सरकार र सम्बन्धित निकायहरुले गर्नुपर्ने सम्मान गरिएको छैन्, न उति वेला गरियो न अहिलेसम्म गरिएको छ ।
नेपाल पत्रकार महासंघको यती लामो इतिहासमा विगत दुईवटा अधिवेशनमा दैलेखका दुई जना पत्रकारले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी पाएका थिए । यस पटकको अधिवेशनमा भने तत्कालीन समयका मेरा सहयात्री सहकर्मी नवीन रिजाल अहिले केन्द्रीय सदस्य हुनुहुन्छ ।
१३ हजार ५ सय मा सकिएको त्यो मिसन ?
पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन गर्न करिब तीन हप्ताको समयमा १३ हजार ५ सय रकम खर्च भएको थियो । केन्द्र वा अन्य निकायहरूले कति रकम खर्च गरे त्यसको भने जानकारी छैन तर दैलेखका पत्रकारहरूले व्यक्तिगत रुपमा हजार, पाँच सय रकम संकलन गरेर करिब तीन साताको मिसन १३ हजार पाँच सयमा सम्पन्न गरेका थियौँ ।
थापाको हत्याको विषय सँगै जोडिएको डकुमेन्ट्री पत्रकार जनक नेपाल र नन्द देवकोटाले २०६६ सालमै निर्माण गरेका हुन् । न्यायको लडाई नाम उक्त डकुमेन्ट्री देशभर प्रदर्शन गर्ने तयारी गरिएको भए पनि विभिन्न कारणले रोकियो । अहिले पनि उक्त डकुमेन्ट्री कुनै पनि सामाजिक सञ्जालमा हालिएको छैन ।
विष्णु शर्मा
पत्रकार महासंघ दैलेख , पूर्व अध्यक्ष ।









